काठमाडौँ - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्डस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो। योसँगै फ्रेन्डसले प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ। फ्रेन्डसका लागि आजको खेलमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई तथा श्यामबाबु केप्छ्याकीले एक गोल गरे।
ब्रिगेड ब्वाइजका लागि ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल गरे। खेलको १४औँ मिनेटमा सुशीलले फ्री–किकमार्फत गोल गर्दै फ्रेन्डसलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २५औँ मिनेटमा ब्रिगेड ब्वाइजका ड्याडीले फ्री–किकमार्फत गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए।
त्यस्तै खेलको २७औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्डसलाई २–१ को अग्रता दिलाए। खेलको पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्डसलाई ३–१ को अग्रता दिलाए। निशेन सुब्बाको फ्री–किकमा उनले गोल गरे । खेलको ७६औँ मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्डसलाई ४–१ को अग्रता दिलाए। खेलको ७८औँ मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्डसलाई ५–१ को अवस्थामा पुर्याए। प्रिजेनको पासमा उनले गोल गरेका थिए।
खेलको ८६औँ मिनेटमा विग्रेड ब्वाइजका अनिलले पेनाल्टीमार्फत एक गोल थपे पनि फ्रेन्ड्स ५–२ ले विजयी भयो। पहिलो जीतसँगै अङ्क तालिकाको अन्तिम स्थानमा रहेको फ्रेन्डस तत्कालका लागि रेलिगेसन जोनबाट जोगिएको छ। दश खेलबाट ६ अङ्क जोडेर फ्रेन्ड्स १२औँं स्थानमा उक्लिएको छ। हारसँगै समान ६ अङ्क नै रहे पनि बिबिसी अङ्क तालिकाको १३औँ स्थानमा छ। त्यस्तै ५ अङ्क बटुलेको च्यासल युथ क्लब तालिकाको अन्तिममा छ।