काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने युएईमा हुने अन्तर्राष्ट्रिय टि-२० लिग (आइएल)मा अनुबन्धित भएका छन्। युएई क्रिकेटको सर्वोच्च निकाय इमिरेट्स क्रिकेट बोर्डले लिगमा सहभागिता जनाउने ५० खेलाडीको नाम सोमबार सार्वजनिक गरेको हो। सोही सूचीमा नेपालका कप्तान सन्दीप समावेश भएका हुन्।
लिगमा टेस्ट राष्ट्र तथा एसोसिएटका खेलाडी विभिन्न टोलीमा अनुबन्धित भएका हुन्। मार्की खेलाडी सूचीमा नेपालका सन्दीपसँगै वेस्टइन्डिजका सुनिल नारायण, आन्द्रे रसल, एभिन लेविस, फाबियन एलेन, सिम्रन हेटमायर, अकिल होसेन र रोभ्म्यान पावेल छन्।
यसैगरी इंग्ल्यान्डका मोइन अली, दविद मलान, स्याम बिलिंग्स, टम करन, एलेक्स हेल्स, क्रिस जोर्डन र टम बयान्टन पनि रहेका छन्। अस्ट्रेलियाबाट क्रिस लिन, श्रीलंकाका वानिन्दु हसरंगा, दुस्मन्था चमिरा र भानुका राजपाक्षे, न्युजिल्यान्डका कोलिन मुनरो तथा अफगानिस्तानका मुजिब रहमान मार्की खेलाडीको सूचीमा रहेका छन्।
आइएल टी-२० मा ६ टोलीले सहभागिता जनाउँदै छन्। नाइट राइडर्सको अबुधाबी नाइट राइडर्स, जिएमआरको दुबई क्यापिटल्स र अदानी स्पोर्ट्स लाइनको गल्फ जायन्ट्स फ्रेन्चाइज टोलीका रूपमा छन्। यस लिगमा सहभागी टोलीले १८ खेलाडी अनुबन्धन गर्न पाउँछन्। ४ जना युएईका खेलाडीसँगै २ जना एसोसिएट खेलाडी हुनुपर्ने नियम रहेको छ। हरेक खेलको प्लेइङ ११ मा २ जना युएई र १ जना एसोसिएट टोलीका खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ।