काठमाडौँ। बहुप्रतिक्षित नेपाली चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको तयारीमा रहेको छ। तर, सोहि चलचित्रसँगै दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ र अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ पनि प्रदर्शनमा आउँदैछन्। जसले चलचित्र ‘चपली हाइट ३’को कमाइमा प्रत्यक्ष असर पार्ने देखिन्छ। यहि कारणले चलचित्रका निर्माता अर्जुन कुमार सामाजिक सञ्जालमा दु:ख मनाउ गरिरहन्छन्। उनले दक्षिण भारतीय चलचित्र प्रदर्शनमा ल्याउनु नेपाली चलचित्रप्रति अन्याय भएको बताएका छन्। उनले चलचित्र 'पुष्पा’ नेपाल आए आफ्नो चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनमा नल्याउने घोषणा गरेका छन्। आइतवार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा उनले भने "साउथ फिल्म (पुष्पा) को हिन्दी डब नेपाल आयो भने म हलमा फिल्ममै रिलिज गर्दिनँ। म अरु निर्मातालाई पनि नेपाली फिल्म अहिलेका लागि स्थगित गर्यौं भनेर अभियान चलाउने सोचमा छु। म चुप लागेर चाहिँ बस्दिनँ। म अल्लू अर्जुन, सलमान खान, शाहरुख खान, अक्षय कुमारको फिल्मसँग भिड्न सक्दिनँ। मैले विदेशी फिल्मको विरोध गरेको होइन। यस्तो अवस्थामा नेपाली फिल्मलाई सपोर्ट गरौं भनेर आग्रह मात्र गरेको हुँ। यदी नेपाली फिल्मलाई भन्दा विदेशी फिल्मलाई प्राथमिकतामा राखिन्छ भने म फिल्मै लगाउँदिनँ।" यो कारणले दर्शकहरुको मनमा एक प्रश्न उब्जिन्छ 'दक्षिण भारतीय चलचित्र ल्याए नेपाली चलचित्र प्रदर्शनमा नआउने?'