काठमाडौँ - भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला बंगलादेशले जितेको छ। मिरपुरमा हिजो बुधबार भएको दोस्रो खेलमा भारतलाई ५ रनले हराउँदै बंगलादेशले १ खेल बाँकी छँदै शृङ्खला जितेको हो।
बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रनमात्र बनाउन सक्यो। भारतका लागि श्रेयस अय्यरले ८२, अक्षर पटेलले ५६ र रोहित शर्माले नटआउट ५१ रन बनाएका थिए। बलिङतर्फ बंगलादेशका इबादत होसैनले ३ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो। बंगलादेशका लागि मेहदी हसनले १०० रन बनाएका थिए। यस्तै महमदुल्लाहले ७७ रन बनाएका थिए। बलिङतर्फ भारतका वाशिङ्टन सुन्दरले ३ विकेट लिएका थिए।
पहिलो खेलमा १ विकेटले विजयी भएको बंगलादेशले १ खेलअघि नै शृङ्खला जितेको हो। तेस्रो तथा अन्तिम खेल आउँदो शनिवार हुनेछ।