नामिबियाविरुद्ध स्कटल्याण्डको लगातार दोस्रो जित

काठमाडौँ - आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्ड विजयी भएको छ। उसले गएराति नामिबियामाथि ३ विकेटको जित हात पारेको हो। २१६ रनको लक्ष्य स्कटल्याण्डले ४८.५ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो।

उसका लागि कलुम म्याक्लोयोड र क्रिस ग्रिभ्सले अर्धशतकीय पारी खेले। उनले ९३ बलमा ७ चौकासहित ५९ रन जोडे। ५३ रनमा अविजित रहेका ग्रिभ्सले ४८ बलमा ५ चौका र २  छक्का प्रहार गरे। सफ्यान शरिफले अविजित ४०, म्याथ्युज क्रसले २९, जर्ज मुन्सेले १७ र मार्क वाटले ११ रन जोडेका थिए।  

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ३ तथा डेविड विसे, बेन शिकोन्गो र जान फ्राइलिंकले १/१ विकेट हात पारे।

त्यसअघि ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २१५ रन बनाएको थियो। उसका लागि जन फ्राइलिंक र कप्तान गेर्हार्ड इरास्मसले अर्धशतकीय पारी खेले। ६० रनमा अविजित रहेका फ्राइलिंकले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। इरास्मसले ७२ बलमा समान २  चौका र छक्कासहित ५६, जेजे स्मिथले २६ र  डिभान ला ककले २३ रन जोडेका थिए।

स्कटल्याण्डका गाभिन मेन र हेम्जा ताहिरले ३/३ तथा मार्क वाटले १ विकेट लिए। यो जितसँगै स्कटल्याण्ड २३ खेलमा ३२ अंकका साथ लिग-२ को दोस्रो  स्थानमा रहँदा पराजित नामिबिया १७ खेलमा १६ अंकका साथ छैटौं स्थानमा रहेको छ।

सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गर्दा नेपालसँग ५ विकेटको हार व्यहोरेको थियो। नामिबियाले स्कटल्याण्डसँग ७७ रनको हार व्यहोर्दा नेपाललाई ४० रनले पराजित गरेको थियो।

अब अन्तिम खेलमा नामिबियाले शनिबार तथा स्कटल्याण्डले आइतबार नेपालको सामना गर्नेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×