काठमाडौँ - दशैं पैसाको धेरै कारोबार हुने चाड हो। यो समयमा नगद कारोबार र दान दक्षिणाका लागि नगदको प्रवाह धेरै हुन्छ। दशैंमा दान दक्षिणा र पूजाआजाका लागि नयाँ नोटको प्रचलन छ। बजारमा भिडभाड हुन्छ र नगद कारोबार पनि बाक्लो मात्रामा हुन्छ। दशैं खर्च गर्न वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरुबारे उपभोक्ता सचेत हुनुपर्छ।
तर, नयाँ नोट बजारमा आएका बेला नै जाली नोट कारोबारीहरु सक्रिय हुन्छन्। दशैंको टीकापछि पसलहरुमा नयाँ नोट आउँछन् भने उपभोक्ताले फिर्ता पाउने नोट पनि धेरै नयाँ नै हुन्छन्।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार २२ अर्बभन्दा बढी नयाँ नोट बजारमा गएको छ। यस्ता नयाँ नोटमा कारोबारीहरुले जाली नोटमिसासक्ने हुन सक्ने सम्भावना धेरै हुने भएकाले उपभोक्ताहरुले ध्यान दिनुपर्छ।
नेपाल राष्ट्र बैंककाअनुसार ठूला चाडबाडका बेला नक्कली नोटहरु भेटिन सक्छन्। नक्कली नोटको कारोबार ठूला चाडपर्व र चुनावका बेला धेरै हुने हुन्छ। यो वर्ष चुनाव पनि नजिकिएकाले जाली नोटको कारोबार बढ्ने सम्भावना बढी रहेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्।
चाडवाड तथा चुनावका बेलामा सुरक्षा अंग र राज्यको ध्यान शान्ति सुरक्षामा बढी व्यस्त हुने हुँदा यस्तो मौकामा नक्कली नोटको कारोबार गर्न सहज हुने ठानेर अपराधिक गिरोहले नक्कली नोटको कारोबार गर्न सक्ने उनी बताउँछन्।
दशैंका बेला जतात्यतै भीड हुने भएकाले पनि नक्कली नोटको कारोबार बढी हुने गरेको डर व्यवसायीलाई पनि हुन्छ। बानेश्वरका कपडा व्यवसायी सन्तोष रौनियार नयाँनोट जाँच गरेर मात्रै लिने गरेको सुनाउँछन्। ‘पसलमा भीड हुन्छ, राम्रोसँग नोट हेर्न फुर्सद त हुँदैन,’ उनी भन्छन्,’नयाँ नोट आयो भने कम्तीमा त्यो नक्कली हो कि भन्ने डर हुन्छ।’
धेरै जसो नक्कली नोटहरु ठूला दरका हुन्छन्। नेपालमा नक्कली भेटिने नोटमा ५ सय र १ हजार दरका हुन्। त्यसैले दशैंमा नयाँ नोटको कारोबार र प्रयोग गर्दा सजग हुनुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको सुझाव रहेको छ।
नक्कली नोटहरु बजारमा छरिएमा उपभोक्ता ठगिन्छन् भने अर्थतन्त्रमा नकारात्मक प्रभावहरु पर्छन्। कानुनी हिसावले जाली नोटको कारोबार गर्नु दण्डनीय हुन्छ। नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ।
कसरी चिन्ने नोट?
राष्ट्र बैंकका अनुसार नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन। सक्कली नोट खस्रो हुन्छ। साथै अंकहरुसमेत केही उठेका हुन्छन्। छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हुने सम्भावना बढी हुन्छ।
सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ। नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ। तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन्। सबैभन्दा महत्वपूर्ण कुरा त नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी सबै सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ।
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ।
उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट पि्रन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग-एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ।
त्यसैगरी नेपाल राष्ट्र बैंकको संक्षिप्त रुप ‘एनआरबी’ (अंग्रेजीमा) को केही अंश नोटको अघिल्लो भागमा र उक्त एनआरबी को बाँकी अंश नोटको पछडि भागमा एकै पटक प्रिन्ट गरिएको छ। नोटको उक्त ‘एनआरबी’ प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ। उक्त एनआरबी अक्षर नोटको अघिल्लो भाग र पछिल्लो भाग दुवै तर्फबाट देखिन्छ।
सुरक्षण धागोमा ‘एनआरबी’ र उक्त ‘एनआरबी’को ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ। नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ।
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो रहेको देखिन्छ। उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट पि्रन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाइँ भागमा सुरक्षण धागो देखिन्छ। साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट पि्रन्ट भएको देखिन्छ।