काभ्रे। बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले खेल क्षेत्रको समग्र विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।
अखिल नेपाल खेलकुद महासङ्घ, योङ कम्युनिष्ट लिग (वाइसिएल) र अखिल (क्रान्तिकारी) काभ्रेले उहाँको सम्मानमा आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित एक कार्यक्रममा मन्त्री ढकालले सबै प्रकारका खेलको विकासका लागि त्यससँग सम्बन्धित पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका हुन्।
खेलाडीलाई उत्पादनसँग जोड्न स्पष्ट युवा नीति तयार गरेर अगाडि बढ्ने गृहकार्यमा प्रदेश सरकार लागिपरेको बताउँदै खेलकुद क्षेत्रको विकासका लागि आवश्यक ऐन, कानून र नीति निर्माण गर्दै अगाडि बढ्ने उल्लेख गरे।
नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी सदस्य मिमबहादुर वाइबाले खेलाडीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताउँदै खेलाडीलाई आत्मनिर्भर बनाउन र खेलबाट नै राष्ट्रलाई चिनाउने खालको योजनामा उनीहरुलाई सहभागिता गराउँदै अघि बढ्न सरकारलाई आग्रह गरे।
नेकपा (माओवादी केन्द्र)का युवा नेता दैवलाल घिसिङले काभ्रेपलाञ्चोकको खेलकुद क्षेत्रको विकासका लागि रचनात्मक कार्य गर्न मन्त्रीसँग आग्रह गरे।