काठमाडौँ- महेन्द्रसिंह धोनीले कप्तानी सम्हाल्नेबित्तिकै चेन्नाई सुपर किंग्समा ऊर्जा थपिएको छ। सोमबार राति भएको आईपीएलको खेलमा चेन्नाईले २ सय २ रन बनाएको थियो।
यो विशाल स्कोरको सहायतामा चेन्नाईले लयमा रहेको सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको थियो। यो चेन्नाईको जारी आईपीएलमा तेस्रो तथा धोनीको कप्तानीमा पहिलो जित पनि थियो। धोनी शनिबार कप्तानमा फर्केका थिए।यसअघि, चेन्नाईका कप्तान रविन्द्र जडेजा थिए। जडेजाको कप्तानीले टोलीको राम्रो प्रदर्शन भएको थिएन। ८ खेलमा २ मा मात्रै जित हात पार्न सकेको थियो। यो अमिलो नतिजाको कारण धोनीलाई फेरि कप्तानको भूमिका दिइयो र जित पनि हात पारेको छ। धोनीको अनुभवीमा चेन्नाईका बलरले राम्रो बलिङ पनि गरेर हैदराबादलाई १ सय ८९ रनमा रोकेका थिए।
पहिले ब्याटिङ गरेको चेन्नाईका लागि ओपनर ऋतुराज गायकवादले शानदार ब्याटिङ गरे। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियमको मैदानमा उनले ९९ रन बनाएका थिए। उनी एक रनले आईपीएलमा व्यक्तिगत दोस्रो शतक प्रहार गर्न चुकेका थिए। शतकतिर अग्रसर भएको अवस्थामा उनलाई टि नटराजनले क्याच आउट गराएका थिए। ५७ बलको सामना गरेका उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए।
चेन्नाईका लागि अर्का ओपनर डेभन कन्वेले ५५ बलमा ८ चौका र ५ छक्कासहित ८५ रन बनाए। पहिलो विकेटका लागि कन्वे र गायकवाडले १७.५ ओभरमा १ सय ८२ रनको साझेदारी गर्दै विशाल स्कोरतिर अघि सारेका थिए। ड्वेन ब्राभोको स्थानमा कन्वेले मौका पाएका थिए। तर, धोनी ८ रनमा आउट भए।
चेन्नईले अव बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ। चेन्नई प्ले अफमा पुग्न बाँकी ५ खेलमा जित निकाल्नुपर्ने हुन्छ। बाँकी ५ खेलमा जित निकाल्दा कुल १६ अंक हुने हुँदा प्लेअफको सम्भावना देखिन्छ।