काठमाडौँ - इंग्ल्याण्डले टी-२० विश्वकप क्रिकेटको समूह-१ मा आज (मंगलबार) न्यूजिल्याण्डलाई पराजित गरेको छ। अस्ट्रेलियाको ब्रिसबेनमा क्रिकेट मैदानमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २० रनले पराजित गरेको हो।
१८० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन मात्रै बनायो। न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ६२, कप्तान केन विलियम्सनले ४०, फिन एलन र मिचेल साट्नरले समान १६-१६ रन बनाएका थिए। बलिङतर्फ इंग्ल्याण्डका क्रिस वोक्स, साम करनले समान २/२ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७९ रन बनाएको थियो। इंग्ल्याण्डका कप्तान जस बटलरले ७३ र एलेक्स हलेक्सले ५२ रन बनाएका थिए।
न्यूजिल्याण्डको यो हारसँगै समूह-१ बाट सेमिफाइनल पुग्ने टिमको प्रतिस्पर्धामा रोचक भएको छ। यो खेलमा हारे पनि नेट रनरेटका आधारमा न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ। ४ खेलबाट २ मा जित १ खेलमा हार र १ खेलमा अंक बाँड्दै न्यूजिल्याण्डको ५ अंक छ।