काठमाडौँ - पञ्जाब फिल्म उद्योगकी दिग्गज अभिनेत्री दलजीत कौरको निधन भएको छ। ६९ वर्षको उमेरमा दलजीतको निधन भएको हो। थुप्रै हिट फिल्म दिने दलजीतको पञ्जाब सिनेमामा महत्वपूर्ण योगदान छ।
उनको निधन बिहिबार १७ नोभेम्बरमा लुधियानामा उनको कजन भाइको घरमा भएको हो। नायिकाका कजन हरिन्दर सिंह खंगुराका अनुसार ६९ वर्षकी दलजीत पछिल्लो ३ वर्षदेखि ब्रेन ट्युमरसँग लडिरहेकी थिइन। पछिल्लो १ वर्षदेखि दिलजीत डिप कोमामा थिइन्। नायिकाको शुक्रबार अन्तिम संस्कार गरिनेछ।
दलजीतले ‘गडबड हे, पटोला, सइदा जोगन, सरपंच, सैदा जोगन, की बनू दुनिया दा, पुत जट्टां दे’ लगायतका चर्चित फिल्ममा काम गरेकी छिन्।
दलजीतले दिल्लीको लेडी श्रीराम कलेजबाट ग्रेजुएशन गरेकी थिइन्। उनले आफ्नो फिल्मी करियर सन् १९७६ मा फिल्म दाजबाट सुरु गरेकी थिइन्। थुप्रै पञ्जाबी फिल्ममा दलजीतले फिमेल लिड रोल प्ले गरेकी थिइन्। दलजीतले आफ्ना श्रीमान् हरमिन्दर सिंह देओलको सडक दुर्घटनापछि फिल्मबाट ब्रेक लिएकी थिइन्।
सन् २००१ मा दलजीत पुनः फिल्मी दुनियाँमा आएकी थिइन्। आफ्नो फिल्मी करियरमा दलजीतले १० हिन्दी र ७० पञ्जाबी फिल्ममा काम गरेकी थिइन्। उनलाई पञ्जाबी सिनेमाको हेमा मालिनी भनिन्थ्यो।