काठमाडौँ - नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेआबद्ध जमैका ताल्लावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार दोस्रो जित हात पारेको छ।
उसले गएराति गयना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। तर, यो खेलमा पनि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले मौका पाएनन्। उनले अघिल्लो खेलमा पनि अवसर पाएका थिएनन्।
आफ्नो दोस्रो खेलमा १४३ रनको लक्ष्य जमैकाले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्यो। उसका लागि कप्तान रोभम्यान पावेलले अविजित ४४ रनको योगदान दिएका थिए।
ब्रेण्डन किंग्सले ३२, इमाद वसिमले १८ तथा क्रिस ग्रीनले अविजित १७ रन बनाएका थिए। वारियर्सका लागि गुणकेश मोतीले २ तथा रोमारियो शेफर्ड, ताबरेज शम्सी, ओडेन स्मिथ र इमरान ताहिरले समान १ विकेट लिएका थिए।
त्यसअघि वार्नर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो। उसका लागि कप्तान शिमरन हेटमायरले ३९, रोमारियो शेफर्डले ३६ शाई होपले २५ तथा हेनरिक क्लासनले अविजित २२ रन बनाएका थिए।
जमैकाका लागि मोहम्मद आमिरले ३, मिगाल पिट्रोरियसले २ तथा निकोल्सन गोर्डनले १ विकेट लिएका थिए। यो जितसँगै २ खेलमा ४ अंक जोडेको जमैका शीर्ष स्थानम रहँदा वारियर्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।