काठमडौँ - हार्दिक पाण्डेयको अलराउन्ड प्रदर्शनप्रेरित भारतले बिहीबार राति इङ्ल्यान्डविरुद्धको पहिलो टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० रनको प्रभावशाली विजय हासिल गरेको छ। यससँगै भारतले ३ खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ।
साउथह्याम्पटनको द रोज बउल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.३ ओभरमा सबै विकेट गुमाएर १४८ रनमात्र बनाएको हो।
भारतका लागि पाण्डेयले सबैभन्दा धेरै ५१ रन बनाए। उनले ३३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सूर्यकुमार यादवले ३९ रन बनाउँदा दीपक हुडाले ३३ रन जोडेका थिए। कप्तान रोहित शर्माले २४ रन बनाए। अक्सर पटेलले १७ र दिनेश कार्तिकले ११ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इङ्ल्यान्डका मोइन अली र क्रिज जोर्डनले समान २ विकेट लिए। रीसे टोप्ले, टेमल माइल्स र म्याट पार्किनसनले १/१ विकेट लिएका थिए।
१९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका लागि मोइन अलीले सबैभन्दा धेरै ३६ रन बनाए। ह्यारी ब्रुकले २८ रन बनाउँदा क्रिज जोर्डनले अविजित २६ र डेबिड मालनले २१ रन बनाएका थिए।
भारतका पाण्डेयले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए। अश्रदीप सिंह र युजभेन्द्र चाहलले समान २ विकेट लिए। हर्षल पटेलले १ विकेट लिएका थिए।