तनहुँ - तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो।
विकास समितिले तीन दिनसम्म दुई सय नवौं भानु जयन्ती मनाउने गरी तयारी तीव्र पारेको छ। यही असार २७, २८ र २९ गते तीन दिनसम्म भानु जयन्ती मनाउने तयारी गरिएको हो।
भानुजयन्तीको अवसरमा आज स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरी, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम राखिएको छ।
सोही अवसरमा यही मंगलबार हुने राष्ट्रियस्तरको खुला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ जनाको कविता प्राप्त भएकामा १५ कविता छनोट भएको छ।
प्राप्त कवितामध्ये मूल्याङ्कन समितिको निर्णयबमोजिम १५ कविता छनोट गरिएको रानाभाटले जानकारी दिए।