काठमाडौँ - ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो। ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो। यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ।
त्यसैगरी ब्रिगेड ब्वाइज तेस्रोपटक रेलिगेशनमा परेको हो। यसअघि २०६३ र २०६८ सालमा रेलिगेशनमा परेको थियो। सातदोबाटोको जीतमा सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक–एक गोल गरे। ब्रिगेडका लागि भने बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक–एक गोल फर्काए। खेलको १३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए तर खेलको १६औँ मिनेटमा ब्रिगेड ब्वाइका बेर्टरान्डले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
त्यस्तै खेलको १८औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए। खेलको ५१औँ मिनेटमा ब्रिगेड ब्वाइजका रोशनले गोल गर्दै खेललाई २–२ गोलको स्थितिमा ल्याए। त्यसपछि खेलको ८७औँ मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जीत दिलाए। यस जीतसँगै सातदोबाटोले १२ खेलमा १८ अङ्क जोडेको छ। सातदोबाटो पाचौ स्थानमा उक्लिएको छ। पराजित ब्रिगेड ब्वाइज १२ खेलमा ७ अङ्क जोडेको छ।