काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले मंगलबार जावलाखेल युथ क्लबविरुद्ध रोमाञ्चक ३–३ को बराबरी खेलेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सलाई एक अंक दिलाउने क्रममा नाथालिन गार्सियाले दुई तथा जमोल एन्थोनीले एक गोल गरेका थिए । जावलाखेलका लोइक एनजिमीको दुई तथा रूपबहादुर लामाले एक गोल गरे।
खेलको ११औँ मिनेटमा लोइक एनजिमीले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाएका हुन्। खेलको ३९औँ मिनेटमा लोइकले व्यक्तिगत दोस्रो गोल गर्दा जावलाखेल २–० ले अघि बढ्यो। खेलको ४३औँ मिनेटमा रुपबहादुरले जावलाखेललाई पहिलो हाफमा ३–० ले अघि बढाए। पहिलो हाफको इन्जुरी समयमा नाथानिलले फ्रेन्ड्सलाई ३–१ को स्थितिमा ल्याए। ७१औँ मिनेटमा नाथानिल फ्रिकिकमा सीधै गोल गर्दै खेललाई फ्रेन्ड्सलाई ३–२ को स्थितिमा पुर्याए। अन्तिम इन्जुरी समयमा जमोल एन्थोनीले फ्रेन्ड्सलाई ३–३ को स्थितिमा पुर्याउँदै हारबाट जोगाए। बराबरीसँगै जावलाखेल ११ खेलबाट १० अंक जोडेर ११औँ स्थानमा तथा फ्रेन्ड्स ७ अंक जोडेर १२औँ स्थानमा यथावत् रहेको छ।