काठमाडौँ । हिजो मंगलबार घटेको सुन चाँदीको मूल्य आज बुधबार पुनः उकालो लागेको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले उकालो लागेको हो। अघिल्लो दिन प्रतितोला रु. ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु. ९२ हजार ८०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ३०० कायम गरिएको छ। मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला रु. ९१ हजार ७०० रहेको थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार २ सय ६० पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोकिँदै आएको छ। आज बुधबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८ सय १५ डलर आसपास कारोबार भइरहेको छ।