काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टीमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन्।
बुधबार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरेका छन्।
१४ वर्षसम्म निरन्तर रुपमा राष्ट्रिय फुटबल टीमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवासुविधाका लागि माग गर्दा प्रशिक्षक अल्मुताइरी र खेलाडीबीच विवाद भएको थियो। विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अल्मुताइरीले नयाँ टिम निर्माण गरेका थिए। जसयताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडीहरु वञ्चित रहेका थिए।
गोलकिपर चेम्जोङले अन्य खेलाडीभन्दा आफूले टीमलाई विचलित बनाउने कुरा नगर्दासमेत टीमबाट आफू निष्कासित हुनुपरेको गुनासो गरेका छन्। बिना कारण टीमबाट निकालिँदा सञ्चार माध्यमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो उनले गरेका छन्।
चेम्जोङले अल्मुताइरीले आफूलाई टोलीभन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताएका छन्। तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रीपूर्ण खेल खेल्न लागेको छ। सोही मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश भएका छन्।
लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोलीभन्दा बाहिर रहँदा आराम भएको गोलकिपर चेम्जोङले बताएका छन्। टोलीमा फर्किएपछि चेम्जोङले कुनै पनि खेलाडीले फुटबल व्यक्तिका लागि भन्दा राष्ट्रिय झण्डाका लागि खेल्ने बताएका छन्।
आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिबद्धता प्रदीप हुमागाईंले जनाएका छन्। जसअनुसार अहिले नेपाल टोली प्रशिक्षणमा रहेको छ। १ साताको अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ।
प्रमुख प्रशिक्षक हुमागाईंले छिट्टै टोलीलाई घटाउने भने पनि १ साता बितिसक्दा टोलीको संख्या घटेको छैन। फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहिलो साता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताएका छन्।
राईले फुटबल बनोटअनुसार शुरुवाती चरणमा गरिने अभ्यास बितेको १ सातामा गरेको बताएका छन्। राष्ट्रिय टोलीमा दिएको जिम्मेवारी आफ्नो लागि मौका भएको भन्दै सहायक प्रशिक्षक राईले प्रमुख प्रशिक्षक हुमागाईंसँग काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन्।
पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भएअनुसार हुमागाईंले अल्मुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन्।