काठमाडौँ - साविक विजेता एसी मिलानले शनिबार राति इटालियन सिरी ‘ए’मा साम्पडोरियामाथि २-१ को संघर्षपूर्ण विजय हासिल गरेको छ।
पाहुना टोली मिलानले छैटौँ मिनेटमा जुनियर मेसियासको गोलबाट अग्रता लिएको थियो। २१ औँ मिनेटमा मिलानका चार्लेस डी काटेलारीले गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले अफसाइड घोषित गरिदिएको थियो। ४७ औँ मिनेटमा राफेल लियोले दोस्रो पहेंलो कार्डको सामना गरेपछि मिलान १० खेलाडीमा सीमित भएको थियो।
५७ औँ मिनेटमा साम्पडोरियाका फिलिप डुरिसिकले बराबरी गोल फर्काएका थिए। ६७ औँ मिनेटमा ओलिभर जिरौडले गरेको गोल मिलानको जितमा निर्णायक बन्यो। इन्जुरी समयमा मार्को जियमपाउलोले दोस्रो पहेंलो कार्डको सामना गरेपछि साम्पडोरियाले पनि १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। ६ खेलबाट १४ अंक जोडेको मिलान दोस्रो स्थानमा रहेको छ। समान १४ अंक जोडेको नेपोली शीर्ष स्थानमा रहेको छ। पराजित साम्पडोरिया १८ औँ स्थानमा रहेको छ।
नेपोलीले गएराती स्पेजियालाई १-० ले हराएको थियो। नेपोलीको जितमा जियाकोमो रास्पाडोरीले ८९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। इन्जुरी समयमा लुसियानो स्पालेट्टीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि नेपालीले पनि १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।
चौथो स्थानको इन्टर मिलानले टोरिनोलाई १-० ले हराएको थियो। इन्टरको जितमा मार्सेलो ब्रोजोभिकले ८९ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।