काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा जारी महाधिवेशनमा पदाधिकारीमा सहमतिको प्रयास भइरहेको छ ।
अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भइसकेपनि सहअध्यक्ष, महासचिव, सहमहासचिव र सचिवलगायतका पदहरूमा पनि सहमति कायम गर्ने प्रयास भइरहेको हो ।
राजेन्द्र श्रेष्ठले जसपा विभाजन गरेर हिँडेपछि रिक्त रहेको सहअध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सहअध्यक्षमा रकम चेम्जोङ, राजकिशोर यादव र लालबाबु राउतले उम्मेदवारी दिएका छन् ।
आज बिहान साढे ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उक्त अवधिमा उम्मेदवारी फिर्ता गराएर सहमति कायम गर्ने प्रयास भएको हो ।
चुनाव गर्नुपर्ने स्थिति आए आजै दिउँसो १२ बजेदेखि ३ बजेसम्म निर्वाचनको समय तोकिएको छ । पार्टीको सहअध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । ५ जना उपाध्यक्षका लागि २३ जना मैदानमा उत्रिएका छन् ।