काठमाडौँ - कलाकार सन्तोष पन्तद्वारा निर्माण गरिएको नयाँ नेपाली फिल्म ‘हिजो आजका कुरा’ मा समावेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ। असोज २८ गते प्रदर्शन हुने यो फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन्।
फिल्मको पहिलो गीत ‘ए जदौ माया जदौ’ अत्यन्त लोकप्रिय भएको थियो। उक्त गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी पटक हेरिसकिएको छ। कोरोना महामारीका कारण पूर्व घोषित २०७७ वैशाख १२ मा प्रदर्शन स्थगित गरिएको यो फिल्म अब भने दसैं–तिहारको बीचमा दर्शकमाझ ल्याउन लागिएको हो।
सार्वजनिक गीतका शब्द एक्तारे तथा साकार पन्तले रचना गरेका हुन् भने स्वर तथा संगीत हर्कुलस बस्नेतको रहेको छ। बिरही भावको गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलीया, साकार पन्त, ऋचा शर्मा, रिमा बिश्वकर्मा, केकी अधिकारी, लक्ष्मी भुसाल, रबि डंगोल, मन्जु श्रेष्ठ, दिब्यदेवलगायतका कलाकारहरु समेटिएका छन्।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो फिल्मको कथा कलाकार सन्तोष पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ। रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र रहेका छन्।
बिके फिल्म्स तथा एफडिले वितरण गर्ने यो फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ।
डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रसारण भइ दर्शकको मनमा बस्न सफल टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको ‘हिजो आजका कुरा-द मुभी’ लाई यो वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ।